मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २८
73
0
धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
सारांश

बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको भ...

बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म प्रतिकूल मौसम हुन सक्नेछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिएका छन्।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने तथा मानवीय र भौतिक क्षति हुन सक्ने प्रशासनको आकलन छ। त्यसैले कात्तिक १२ गते बिहीबारदेखि धान काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य नगर्न तथा नगराउन आग्रह गरिएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटक नजान, जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त स्थानमा सवारीसाधन नचलाउन र परिस्थितिअनुसार मात्र यातायात सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सम्बन्धित निकायलाई जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। पूर्वसूचना तथा चेतावनी जारी भएका जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई सुरक्षित स्थानमा सार्नसमेत प्रशासनले आग्रह गरेको छ।

प्रशासनले मौसमसम्बन्धी अद्यावधिक पूर्वानुमान तथा आधिकारिक चेतावनीको पालना गर्न र विपद्का घटना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार