बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा थप देखिने भएको छ। मौसमविद्हरूका अनुसार शुक्रबार देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका धेरै स्थानमा शुक्रबार अपराह्नदेखि रातिसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसअघि बिहीबारदेखि नै चक्रवातको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा बादल लाग्न थालेको थियो। शुक्रबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ भने काठमाडौं उपत्यकामा पनि छिटपुट पानी परेको थियो। तर शुक्रबार वर्षाको मात्रा र प्रभाव क्षेत्र दुवै बढ्न सक्ने मौसमविद्हरूको आकलन छ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भइसके पनि त्यसको प्रभावका कारण नेपालमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना कायमै छ। त्यसैले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार शुक्रबार अपराह्नदेखि रातिसम्म कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। शनिबारदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।
हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम
चक्रवातको प्रभावले तराई तथा पहाडी क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम हुन सक्ने भएकाले सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ।
विपद् प्रतिकार्य कमाण्ड पोष्टको बिहीबार बसेको बैठकले सम्भावित जोखिम रहेका जिल्लाबाट निरन्तर सूचना संकलन गर्न, सर्वसाधारणलाई मौसमको अवस्थाबारे जानकारी गराउन र आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। सम्भावित विपद्को अवस्था आए तत्काल प्रतिकार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनसमेत भनिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको सम्भावनालाई ध्यानमा राखेर देशभरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न आग्रह गरेको छ।
यसअघि नै पदयात्रा वा पर्वतारोहणमा गइसकेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न र मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिइएको छ। किसानहरूलाई पनि कात्तिक १४ गतेसम्म धान नकाट्न आग्रह गरिएको छ।
आन्ध्रप्रदेशबाट जमिनमा प्रवेश गरेको थियो चक्रवात
मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर भएको र गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको थियो।
यही प्रणालीको प्रभावका कारण नेपालमा बिहीबारदेखि नै बादल लाग्न थालेको हो। प्रणाली कमजोर भए पनि यसको प्रभावका कारण केही दिनसम्म वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।
वरिष्ठ मौसमविद् पोखरेलका अनुसार कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।
वर्षा र हिमपातका कारण तापक्रम घट्दा चिसो बढ्न सक्नेछ। जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न मौसम विभागले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
यातायात व्यवसायीलाई सम्बन्धित जिल्लाका प्रहरी तथा प्रशासनसँग समन्वय गरेर मात्रै सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय लिन सुझाव दिइएको छ।
कात्तिक १३ देखि १६ गतेसम्मको मौसम पूर्वानुमान
कात्तिक १३ गते, शुक्रबार
दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थान र बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
राति पनि देशभर अधिकांश बादल लाग्नेछ। धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात तथा थोरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।
कात्तिक १४ गते, शनिबार
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ भने सुदूरपश्चिममा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।
राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ। तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
कात्तिक १५ गते, आइतबार
देशभर आंशिक बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।
कात्तिक १६ गते, सोमबार
देशभर आंशिक बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने पूर्वानुमान छ।
जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह
चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि त्यसको अवशिष्ट प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरी निम्त्याउन सक्ने भएकाले सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोलानजिक बसोबास गर्ने र पहिरोको जोखिम भएका क्षेत्रमा रहेका नागरिकले मौसमसम्बन्धी सूचनालाई ध्यान दिन आवश्यक छ।
सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले यात्राअघि मौसम र स्थानीय प्रशासनको सूचना बुझ्नसमेत आग्रह गरिएको छ।






