गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको कुनै खबर नआएपछि पीडित परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन्। आफन्तको अवस्था पुष्टि हुन नसक्दा परिवारहरू शोक, अन्योल र पीडाबीच दिन बिताउन बाध्य भएका छन्।
नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायका दाजु शेरसिंह रोकाय, भाउजु विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय भोटेकोशी बाढीमा बेपत्ता भएका थिए। दुई महिना बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
अनलालले बेपत्ता आफन्तको शवसमेत फेला नपरेकाले सामाजिक संस्कार गर्न नसकेको बताए। उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका छन्। रिपोर्ट नआउँदा आफन्तको पहिचान र अवस्थाबारे आधिकारिक जानकारी पाउन नसकेको उनको भनाइ छ।
उनका अनुसार सरकारले डीएनए रिपोर्ट उपलब्ध गराउनुका साथै बेपत्ता व्यक्तिबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ। मृत घोषणा गर्ने वा फेला पार्न नसकिने गरी बेपत्ता भएको आधिकारिक निर्णय भएपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएको उनले बताए।
त्यस्तै, रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा बेपत्ता भएका छन्। उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा छन्। सुभासले पनि डीएनए परीक्षणको रिपोर्ट पर्खिरहेको बताएका छन्।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाका अनुसार डीएनए रिपोर्ट नआउँदा पीडित परिवारलाई सान्त्वना दिँदै आएको छ। बेपत्ता परिवारका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक समन्वय तथा सहयोग भइरहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरका अनुसार भोटेकोशी बाढीमा बेपत्ता आफन्तको पहिचानका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा १६ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा नमुना सङ्कलन गरिएको छ। ती नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका पहिलो तहका नातेदार—बाबु, आमा, छोरा वा छोरीको रगतको नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव पहिचान गरी मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।






