उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढेको छ। पराल जलाउँदा निस्किएको धुवाँ देखिन थालेपछि हावाको बहाव नेपालतर्फ भए आगामी दिनमा यहाँको वायु प्रदूषण बढ्न सक्ने मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
पोखरेलका अनुसार हाल नेपालमा वायु तुलनात्मक रूपमा सफा रहे पनि भारतमा पराल जलाउँदा निस्किएको धुवाँले नेपालको वायु गुणस्तरमा असर पार्न सक्छ। हावाको दिशा र बहावका आधारमा प्रदूषित हावा नेपाल भित्रिने सम्भावना रहेको उनले बताएका छन्।
मौसमविद् पोखरेलले भूउपग्रहबाट खिचिएको तस्बिर सार्वजनिक गर्दै भारतमा पराल जलाइएका क्षेत्र र त्यहाँबाट फैलिएको धुवाँ देखाएका छन्।






