भारतको आसाम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ। घटनामा गोली लागेका एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ बजे आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा जीएस रोडस्थित होटल बिलास इनमा घटना भएको हो। होटलका मालिक र भाडामा होटल सञ्चालन गर्ने व्यक्तिबीच विवाद भएपछि गोली चलेको बताइएको छ।
प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनामा छ जनालाई गोली लागेको थियो। तीमध्ये पाँच जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोल पनि बरामद गरिएको प्रहरी आयुक्तले बताएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






