मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाढीपहिरोले पाइपलाइनमा क्षति पुर्‍याएपछि बेनी बजारमा खानेपानी अभाव

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
75
0
 बाढीपहिरोले पाइपलाइनमा क्षति पुर्‍याएपछि बेनी बजारमा खानेपानी अभाव
सारांश

म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोले पानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुर्‍याए...

म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोले पानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुर्‍याएपछि बजारमा मागअनुसार पानी वितरण हुन सकेको छैन।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि अहिले प्रतिसेकेन्ड आठ लिटर मात्रै आपूर्ति भइरहेको छ। संस्थाले बेनी नगरपालिकाका वडा नं. २, ७ र ८ का करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण गर्दै आएको छ।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ स्थित डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त भएको छ। उक्त पाइपलाइनबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने गरेको थियो। तर, एक महिनादेखि उक्त आपूर्ति बन्द छ।

हाल कोप्रेको मुहान, वैकल्पिक अम्रेनी मुहान र राहुपारेबाट पानी ल्याएर आलोपालो प्रणालीमा वितरण भइरहेको छ। सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेपछि समस्या थपिएको छ।

पाइपलाइनमा पहिरोको जोखिम बढेपछि डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ हुँदै दरवाङ बसपार्क क्षेत्रसम्म करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ। तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने गरी बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गर्ने तयारी गरिएको अध्यक्ष गिरीले बताए।

पानीको अभावका कारण बजारवासी, विद्यार्थी, पेसाकर्मी र व्यवसायी प्रभावित भएका छन्। पर्याप्त पानी नपुगेपछि बेनीको रेडक्रस मार्गका केही बासिन्दाले निजी मुहानबाट पानी ल्याउन थालेका छन्। यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र बौद्ध युवा क्लबले ट्याङ्कर तथा ड्रममार्फत पानी वितरण गरेका थिए।

दीर्घकालीन समाधानका लागि मङ्गलाघाटस्थित म्याग्दी नदी किनारबाट लिफ्ट प्रविधिमार्फत पानी तानेर वितरण गर्ने विकल्पमा पनि पहल भइरहेको छ। अध्यक्ष गिरीका अनुसार तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष खानेपानी आयोजना पुनर्निर्माण तथा सुधारका लागि बजेट माग गरिएको थियो। मन्त्री लम्सालले तत्काल बजेट व्यवस्था गरी ठेक्कामार्फत बेनी खानेपानी योजनाको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष गिरीले जानकारी दिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार