मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि दिइने

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २६
81
0
बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि दिइने
सारांश

रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई नुवाकोटमा रहेको होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।<...

रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई नुवाकोटमा रहेको होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएर नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकलाई सहज सेवा दिन यो प्रक्रिया अघि बढाइएको हो। बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात नष्ट भएपछि राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा ढिलाइ नहोस् भन्ने उद्देश्यले प्रभावित बसेकै स्थानमा सेवा पुर्‍याउन थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बस्दै आएका उत्तरगया–१ का २०२ जना प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन सङ्कलन गरी आइतबार सदरमुकाम धुन्चे ल्याइएको छ।

सङ्कलित आवेदनको अध्ययन तथा प्रमाणीकरणपछि तयार हुने नागरिकताको प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर वितरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिएका छन्। उनका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवा पनि क्रमशः उपलब्ध गराइनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार