पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्। निर्वाचन सम्पन्न भएको केही दिनमै सरकार परिवर्तन र आन्दोलनको चर्चा सुरु हुनु चिन्ताजनक भएको उनले बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै आन्दोलन गर्ने र सरकार परिवर्तन गर्ने विषयमा बहस सुरु हुनु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन्।
लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा तथा सहकार्य स्वाभाविक हुने भन्दै उनले सरकारका कामको आलोचना र खबरदारी गर्नुपर्ने बताए। तर, निर्वाचनलगत्तै सरकार ढाल्ने चर्चा गर्नु उचित नहुने उनको भनाइ छ।
विगतमा पटक–पटक सरकार परिवर्तन हुँदा देशले नकारात्मक परिणाम भोगेको उल्लेख गर्दै भट्टराईले राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर बनाउने र युवालाई विदेशिन बाध्य पार्ने बताएका छन्।
उनले सरकारले विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा पछाडि पारिएका तथा गरिब र कमजोर वर्गका नागरिकको आवाज सुन्नुपर्नेमा जोड दिएका छन्। सरकारले जनताको आवाज नसुने विधिसम्मत प्रक्रियाबाट कारबाही गर्न वा पदबाट हटाउन सकिने उनको धारणा छ।
सरकारले राम्रो काम नगरे वा देशलाई बिगार्ने काम गरे अर्को निर्वाचनमार्फत बिदा गर्नुपर्ने भन्दै भट्टराईले निर्वाचित सरकारलाई संविधानअनुसार पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।


