मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

‘अर्नव’ चक्रवातको प्रभावले बिहीबारदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
64
0
 ‘अर्नव’ चक्रवातको प्रभावले बिहीबारदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
सारांश

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान...

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी शुक्रबार र शनिबार मौसम बढी प्रभावित हुन सक्ने भन्दै महाशाखाले विशेष बुलेटिन जारी गरी सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमबीच पर्ने यानम नजिकको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। यसको प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने र कात्तिक १३ तथा १४ गते शुक्रबार–शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। केही स्थानमा भारी वर्षाको सम्भावना पनि छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ।

सम्भावित प्रतिकूल मौसमले धानबाली भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले किसानलाई समयमै सतर्कता अपनाउन आग्रह गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा सुरक्षित स्थानमा रहन भनिएको छ।

वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको छ।

विपद् प्राधिकरणले जारी गर्‍यो अलर्ट

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्नव चक्रपात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । प्राधिकरणले ८ बुँदे अलर्ट नै जारी गरेको छ ।

• धानबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्य कार्तिक १२ गते, बिहीबार अगाडि नै गर्ने, गराउने।
• पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने।
• आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने, गराउने । सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पु-याउने व्यवस्था मिलाउने ।
• सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने ।
• सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्ने । प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।
• जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचना/ चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउने ।
• यस प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी पालना गर्ने, गराउने।
• मौसमसम्बन्धी जानकारीका लागि ११५५. विपद्मा मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्ने ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार