बंगालको खाडीमा विकसित अर्नब चक्रवात बुधबार बिहान भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। चक्रवातको प्रभावका कारण तटीय क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ। यसको असर नेपालमा समेत पर्ने अनुमान गरिएको छ।
भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवात जमिनमा प्रवेश गर्ने प्रक्रिया बुधबार बिहान करिब १:२० बजेदेखि सुरु भएको हो। प्रवेशका क्रममा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर पुगेको थियो भने झोक्का १५० किलोमिटरसम्म पुगेको थियो। प्रक्रिया पूर्ण हुन दिनभर लाग्न सक्ने बताइएको छ।
चक्रवातका कारण काकिनाडा र विशाखापट्टनममा रूख ढलेका, विद्युत्का तार चुँडिएका र सडक अवरुद्ध भएका छन्। अनाकापल्ली र विशाखापट्टनमका केही स्थानमा मंगलबार बिहानदेखि बुधबार बिहानसम्म २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। काकिनाडा र यानम आसपास समुद्रको सतह सामान्य ज्वारभाटाभन्दा १.५ देखि २.५ मिटरसम्म माथि उठ्न सक्ने चेतावनी दिइएको छ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशामा ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँका दक्षिणी जिल्लामा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम रहेको छ। गजपति, गञ्जाम, रायगडा, कोरापुट, नबरङ्गपुर र मलकानगिरीमा अत्यधिक वर्षा हुन सक्ने अनुमान गरिएको छ।
चक्रवातका कारण भारतका विभिन्न क्षेत्रमा यातायात र शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन्। झारखण्डका केही जिल्लामा बुधबार र बिहीबार विद्यालय बन्द गरिएको छ। चेन्नईबाट विशाखापट्टनम, विजयवाडा र राजमुन्द्री जाने तथा ती सहरबाट चेन्नई आउने १२ उडान रद्द भएका छन्। केही रेल सेवा पनि रद्द गरिएका छन् भने अन्य उडानको समयतालिका प्रभावित भएको छ।
नेपालमा पनि चक्रवातको प्रभावसँगै वर्षा बढ्ने मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार नेपाली आकाशको माथिल्लो वायुमण्डलमा बादल प्रवेश गर्न थालेको छ। बुधबार कतैकतै हल्का वर्षा हुन सक्ने र बिहीबार साँझदेखि वर्षाको क्षेत्र तथा मात्रा बढ्न सक्ने सम्भावना छ।
महाशाखाको पाँचदिने मौसम बुलेटिनअनुसार बुधबार हिमाली भूभागसहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। राति विभिन्न प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बिहीबार दिउँसो पनि देशका विभिन्न क्षेत्रमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार भने मौसम थप सक्रिय हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। शुक्रबार राति देशका सातै प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपात र कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
भारतमा चक्रवातका कारण जनजीवन प्रभावित भइरहेका बेला नेपालमा पनि वर्षा, हिमपात र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै मौसमसम्बन्धी आधिकारिक सूचना पछ्याउन आवश्यक देखिएको छ।






