मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

अब जुनसुकै जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन पाउने

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २८
76
0
अब जुनसुकै जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन पाउने
सारांश

सरकारले उपत्यकाबाहिरका जिल्लाका नागरिकले पनि काठमाडौं उपत्यकामै नेपाली नागरिकताको प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ। गृह मन्त्रालयले सेवा...

सरकारले उपत्यकाबाहिरका जिल्लाका नागरिकले पनि काठमाडौं उपत्यकामै नेपाली नागरिकताको प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ। गृह मन्त्रालयले सेवामा सहजीकरण गर्दै देशभरका नागरिकलाई जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ तथा सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ अनुसार अन्य जिल्लाका नागरिकले पनि प्रतिलिपि लिन सक्ने जानकारी दिएको छ।

आगलागी वा पानीका कारण नागरिकता नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने व्यक्तिले यस सुविधाबाट सेवा लिन सक्नेछन्।

गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार सेवा प्रवाहको जिम्मेवारी तोकिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय वा त्यसअन्तर्गतका निकायबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। ललितपुर जिल्ला प्रशासन कार्यालय वा त्यसअन्तर्गतबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा पाउनेछन्। त्यस्तै, भक्तपुर जिल्ला प्रशासन कार्यालय वा त्यसअन्तर्गतबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार नागरिकताको प्रतिलिपि जारी गर्न सेवाग्राहीको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग हुबहु मिल्नुपर्नेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार