- by समाचार कक्ष
- Jul 09, 2025
१३ माघ, काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने विभिन्न वस्तुमा लाग्ने भन्सार शुल्क २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यसअघि १५ प्रतिशत रहेको ट्यारिफ कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा वृद्धि गरिने जनाइएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’मार्फत उक्त निर्णय सार्वजनिक गर्दै यसलाई ‘रेसिप्रोकल ट्यारिफ’को संज्ञा दिएका छन्। उनका अनुसार कुनै देशले अमेरिकी सामानमा उच्च आयात शुल्क लगाउँदा अमेरिकाले पनि सोही देशबाट आउने वस्तुमा समान रूपमा उच्च ट्यारिफ लगाउने नीति अपनाउनेछ।
ट्रम्पले दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौता पूर्ण रूपमा कार्यान्वयन नगरेको आरोप लगाउँदै ट्यारिफ वृद्धि आवश्यक भएको बताएका छन्। उनका अनुसार दक्षिण कोरियाको संसदले सम्झौतामा अनुमोदन दिन ढिलाइ गरेको छ भने अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ समयमै घटाइसकेको दाबी गरेका छन्।
यता, दक्षिण कोरियाले भने अमेरिकी निर्णयबारे आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नआएको जनाएको छ। साथै, यस विषयमा अमेरिकासँग शीघ्र वार्ता आवश्यक रहेको धारणा दक्षिण कोरियाले राखेको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकाले दक्षिण कोरियाबाट मुख्य रूपमा औद्योगिक तथा उच्च प्रविधिका सामान आयात गर्दै आएको छ। यसमा हुन्डाई र किआजस्ता ब्रान्डका कार तथा अटो पार्ट्स, सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टेलिभिजन, डिस्प्ले प्यानल, भारी मेसिनरी, प्लास्टिक तथा रासायनिक कच्चा पदार्थ, स्टिल शीट, पाइप, अन्य धातुजन्य सामग्री, औषधि, मेडिकल प्रविधिका उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री र इलेक्ट्रिक सवारीका कम्पोनेन्टहरू प्रमुख छन्।
यी क्षेत्रमा ट्यारिफ वृद्धि हुँदा अमेरिका र दक्षिण कोरिया दुवै देशका उद्योग तथा उपभोक्तामा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।