Monday, June 1, 2026

स्वास्थ्य बीमा संकट गहिरियो: निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने


काठमाडौं, १३ जेठ । आर्थिक संकट चुलिँदै गएपछि सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि अर्को व्यवस्था नभएसम्म आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो ।

बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार बढ्दो वित्तीय भार र सेवाप्रदायक संस्थालाई भुक्तानी गर्न नसकिएको अवस्थाका कारण यस्तो निर्णय गरिएको हो । बोर्डको जेठ ११ गते बसेको बैठकले सेवा स्थगनसम्बन्धी निर्णय गरेको बताइएको छ ।

यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल र मेडिकल कलेजबाट उपलब्ध हुँदै आएका ओपीडी, प्रयोगशाला परीक्षण, शल्यक्रिया, औषधि लगायत नियमित सेवा प्रभावित हुने देखिएको छ । आकस्मिक सेवा भने यथावत सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि रकम भुक्तानी रोकिँदा निजी अस्पतालहरूले असन्तुष्टि जनाउँदै आएका थिए । केही अस्पतालले त यसअघि नै बीमाका बिरामी नलिने चेतावनीसमेत दिएका थिए ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले वित्तीय अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण संकटमा परेको भन्दै आलोचना बढेको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कार्यक्रमको दिगोपना र प्रभावकारी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like