- by समाचार कक्ष
- Mar 06, 2025
विराटनगर, १८ जेठ - झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडी क्षेत्रमा रतुवा खोलाको किनारमा बोराभित्र फेला परेको शव २१ वर्षीया रमा तिवारीको भएको पुष्टि भएको छ। मृतक रमा दमक नगरपालिका-८ बसन्त टोल निवासी नारायण तिवारीकी छोरी हुन्।
प्रहरीका अनुसार रमा गत जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोजी गरिरहेकै क्रममा शनिबार बिहान उनको शव रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा फेला परेको हो।
प्रारम्भिक अनुसन्धानका आधारमा रमा अन्यत्र कतै हत्या गरिएपछि शव पुलमाथिबाट खोलामा फालिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनास्थितिले पनि हत्या पश्चात शव लुकाउने प्रयास भएको संकेत गरेको प्रहरीको भनाइ छ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव आफ्नी छोरीकै भएको पुष्टि गरेका छन्।
घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो बढाएको छ भने प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।