Monday, June 1, 2026

भोटेकोशी हेली रिसोर्ट विवाद अदालतमा: शेयर कारोबारदेखि प्रहरी संलग्नतासम्म गम्भीर आरोप


पोखरा, १३ जेठ । सिन्धुपाल्चोकस्थित भोटेकोशी हेली रिसोर्ट एण्ड स्पासँग जोडिएको बैंकिङ कसुरसम्बन्धी मुद्दा अहिले कास्की जिल्ला अदालतमा पुगेको छ । रिसोर्टका सञ्चालकमध्ये एक सुवास प्रधानलाई प्रहरीले एक साताअघि काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । उनीविरुद्ध आज अदालतमा थुनछेक बहस हुँदैछ ।

यो विवाद रिसोर्टका सञ्चालक सुवास प्रधान, पूर्वसाझेदार चिनबहादुर रानाभाट तथा हालका साझेदार दीपेन्द्र अग्रवालबीचको आर्थिक कारोबारसँग सम्बन्धित रहेको बताइएको छ । रानाभाट र अग्रवालले प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएपछि बैंकिङ कसुर मुद्दा दर्ता भएको हो ।

प्रधानले भने आफूलाई योजनाबद्ध रूपमा फसाइएको आरोप लगाएका छन् । उनले प्रहरी प्रशासनको दुरुपयोग गर्दै आफूलाई पक्राउ गराइएको दाबी गरेका छन् । साथै, केही उच्चपदस्थ सुरक्षाकर्मी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भतिजा समिर नेपालको समेत विभिन्न भूमिकामा संलग्नता रहेको आरोप उनले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरेका छन् । यद्यपि, ती आरोप पुष्टि गर्ने आधिकारिक प्रमाण भने सार्वजनिक भएको छैन ।

मुद्दाको केन्द्रमा चेक बाउन्स प्रकरण रहेको छ । प्रधानले चिनबहादुर रानाभाटका नाममा जारी गरेको चेक नसाटिएपछि बैंकिङ कसुरअन्तर्गत उजुरी परेको हो । उक्त चेक माछापुच्छ्रे बैंकको खाताबाट जारी गरिएको थियो । साझेदारबीच शेयर मूल्य र भुक्तानीसम्बन्धी सर्त राखेर सम्झौता भएको भए पनि त्यसपछि विवाद चर्किएको बताइएको छ ।

प्रधान पक्षले प्रहरीले सहमतिमार्फत समाधान गर्न सकिने विषयलाई आपराधिक शैलीमा अघि बढाएको आरोप लगाएको छ । परिवारका सदस्यका अनुसार घर खानतलासीदेखि ल्यापटप, मोबाइल जफत गर्ने तथा पुरानो सीसीटीभी फुटेज खोज्ने कामसमेत गरिएको थियो ।

यस प्रकरणमा विवादास्पद शेयर कारोबारी दीपेन्द्र अग्रवालको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । रिसोर्टको शेयर खरिद, लगानी तथा बैंक ऋण व्यवस्थापनसँग सम्बन्धित विभिन्न सहमति उल्लंघन भएको आरोप प्रधानले लगाएका छन् । अग्रवाललाई ग्यारेन्टीका रूपमा दिइएको चेक नै पछि मुद्दाको आधार बनाइएको दाबी पनि गरिएको छ ।

मुद्दाले अहिले व्यवसायिक साझेदारी विवाद, बैंकिङ कारोबार, राजनीतिक पहुँच र सुरक्षा निकायको सम्भावित प्रभावजस्ता विषयलाई एकसाथ चर्चामा ल्याएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like