- by समाचार कक्ष
- Jul 09, 2025
काठमाडौँ - खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन नेपाल आयल निगमले बजार निगरानी कडा बनाएको छ। निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै आपूर्ति अवस्था सामान्य रहेको स्पष्ट पारेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले ग्यासको आयात नियमित र सहज रूपमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार बुधबार मात्र इन्डियन आयल कर्पोरेसनबाट १११ बुलेट ग्यास नेपाल भित्रिएको छ, जुन करिब १ लाख ४० हजार ७ सय सिलिन्डर बराबर हो।
बजारमा सहज आपूर्ति सुनिश्चित गर्न निगमले ग्यास उद्योगहरूसँग समन्वय गर्दै बिक्री–वितरणलाई व्यवस्थित बनाइरहेको उनले बताए। सोही समन्वयअनुसार आज (बिहीबार) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल ग्यासको बिक्री व्यवस्था मिलाइएको निगमले जनाएको छ।
सार्वजनिक गरिएको तालिकाअनुसार आज उपत्यकाका ६६ वटा आधिकारिक बिक्रेता तथा डिपोमार्फत नेपाल ग्यास वितरण भइरहेको छ। आजका लागि कुल ६ हजार ४० सिलिन्डर ग्यास बजारमा पठाइएको निगमले जानकारी दिएको छ।
निगमले आपूर्ति निरन्तर रहेकाले हल्लाका भरमा ग्यास किनेर थुपार्ने काम नगर्न उपभोक्तालाई पुनः आग्रह गरेको छ।