- by समाचार कक्ष
- Jul 09, 2025
काठमाडौं, माघ १५ - नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन नेपाली बजारको इतिहासमै सबैभन्दा महँगो मूल्य हो।
यसअघि बुधबार सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो। मंगलबार भने सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार हाल १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ। बुधबार चाँदीको भाउ प्रतितोला २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ४ सय ३० रुपैयाँले वृद्धि भई ७ हजार ३ सय रुपैयाँ पुगेको थियो।