- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - कागेश्वरी मनहरा नगरपालिका–६, मूलपानीमा बुधबार राति प्रहरीले गोली चलाएर संगठित रूपमा लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उक्त समूह लामो समयदेखि बिहान हिँडडुल गर्ने सर्वसाधारणलाई लक्षित गर्दै लुटपाटमा सक्रिय थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार धारिलो हतियारसहित समूह बनाएर हिँडिरहेको गिरोहलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली प्रहार गर्नुपरेको हो। गोली लागेर घाइते भएका एक व्यक्ति यसअघि प्रहरी वृत्त, महाराजगञ्जको हिरासतबाट फरार भएको खुलेको छ। पक्राउ परेकामध्ये अधिकांश ‘जेन–जी आन्दोलन’ का क्रममा हिरासतबाट भागेका थुनुवा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त समूहले बुधबार राति करिब १२:१५ बजे मूलपानी चोकमा रात्रिकालीन चेकिङमा खटिएका प्रहरीमाथि दुर्व्यवहार र आक्रमण गरेको थियो। घटनामा दुई प्रहरी घाइते भएका छन्। दुवैको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डीएसपी बुढाथोकीले जानकारी दिए।
गत एक महिनादेखि सो गिरोह त्यस क्षेत्रमा सक्रिय रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, भद्रकालीबाट विशेष अपरेशन टोली परिचालन गरिएको थियो। एक मोटरसाइकलमा तीन जनाको समूह बनाएर हिँड्ने उनीहरूलाई पक्राउ गर्न खोज्दा भाग्न थालेपछि प्रहरीले कारबाही अघि बढाएको हो।
प्रहरी स्रोतका अनुसार राति १० बजेपछि एक्लै वा दुई जना मात्र हिँड्ने व्यक्तिलाई घेरा हालेर शरीर छामछुम गर्ने, नगद तथा गरगहना लुट्ने उनीहरूको कार्यशैली थियो। निजी सवारीसाधनलाई बाटोमै रोकेर चालकलाई नियन्त्रणमा लिई मोबाइल, नगद र गहना लुट्ने गरेको पनि खुलेको छ।
मर्निङ वाकमा निस्किएका महिलाको कानबाटै झिकेर गहना लुटिएको घटनासमेत प्रहरीमा उजुरी परेको छ। परिसरमा उनीहरूविरुद्ध ३० देखि ४० वटा जाहेरी दर्ता भइसकेको प्रहरी स्रोतले जनाएको छ।
घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्न जिल्ला प्रहरी परिसरले बिहीबार दिउँसो पीडितसहित पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।