Monday, March 2, 2026

एकभन्दा बढी शाखा खोल्ने सहकारीमाथि कडाइ, शाखा बन्द गर्न विभागको निर्देशन


काठमाडौँ - सहकारी विभागले एकभन्दा बढी शाखा कार्यालय सञ्चालन गर्दै आएका सहकारी संस्थालाई ती शाखा बन्द गर्न निर्देशन दिएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयनका क्रममा विभागले यस्तो कदम चालेको हो। यस सम्बन्धमा विभागले राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूलाई औपचारिक पत्राचार गरेको छ।

सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार विभागले छ बुँदे निर्देशन जारी गरेको छ, जसमा प्राथमिकताका साथ अतिरिक्त शाखा बन्द गर्ने व्यवस्था समावेश गरिएको छ। परिपत्रको पहिलो बुँदामै एकभन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारी संस्थाले हिसाब–किताब मिलान गरी शाखा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

नयाँ निर्देशनअनुसार सहकारी संस्थाले अब कुनै पनि कम्पनी वा संगठित संस्थालाई सदस्य बनाउन पाउने छैनन्। प्राकृतिक व्यक्ति मात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था कडाइका साथ लागू गर्न भनिएको छ।

त्यसैगरी, एउटै व्यक्तिलाई एक वा एकभन्दा बढी तमसुकमार्फत प्रदान गरिने कुल ऋण लगानी संस्थाको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गरिएको छ।

बचत तथा ऋण सहकारी संस्थाहरूले आफ्नो प्रयोगबाहेक अन्य बिक्री प्रयोजनका लागि जग्गा खरिद गर्न नपाउने पनि निर्देशनमा उल्लेख छ। यद्यपि, घर–आवास नभएका सदस्यलाई आवास निर्माणका लागि अधिकतम १००० वर्ग मिटर क्षेत्रफलसम्मको जग्गा खरिद गर्न ऋण दिन सकिने व्यवस्था गरिएको छ।

यसका साथै, सहकारी संस्थाले एउटै उद्देश्य वा क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने र कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म सीमित गर्नुपर्ने स्पष्ट निर्देशन विभागले दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like

  • by समाचार कक्ष
  • Jul 16, 2025
बैंकहरूले घटाए ब्याजदर