Sunday, October 19, 2025

शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले सुन महँगियो, हालसम्मकै उच्च मूल्य


३१ असोज, काठमाडौं — नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्यमा अभूतपूर्व वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ७ हजार १ सय रुपैयाँ बढी हो।

अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको थियो। पछिल्ला केही सातायता सुनको मूल्य लगातार उकालो लागिरहेको छ। पछिल्लो एक महिनामा मात्र सुनको मूल्य करिब ४३ हजार रुपैयाँले बढेको छ। भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ थियो।

विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको तीव्र वृद्धिको असर नेपाली बजारमा पनि परेको हो। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ। एक औंस बराबर २.४३ तोला हुने हुँदा यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो।

यता, चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार चाँदी प्रतितोला ७५ रुपैयाँले महँगिएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँ मा कारोबार भएको थियो भने शुक्रबार यो मूल्य ३ हजार ३५० रुपैयाँ मा पुगेको छ।

विशेषज्ञहरूका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, भू-राजनीतिक तनाव र मुद्रास्फीतिले सुनचाँदीको मूल्यमा चाप बढाएको छ। लगानीकर्ताले सुरक्षित सम्पत्तिका रूपमा सुन रोजेपछि मूल्यमा यस्तो उकालो आएको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like