- by समाचार कक्ष
- Mar 06, 2025
१२ जेठ, काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धविरामकै बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल भण्डारण स्थल तथा समुद्री सुरुङ (माइन) राख्न प्रयोग भइरहेका डुंगालाई लक्षित गर्दै हमला गरिएको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले उक्त कारबाही ‘आत्मरक्षाका लागि’ गरिएको दाबी गरेको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी फौजको सुरक्षालाई ध्यानमा राख्दै संयमपूर्वक कदम चालिएको बताएका छन् ।
यो आक्रमण इरानको रणनीतिक महत्व बोकेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै गरिएको अमेरिकी पक्षले जनाएको छ । उक्त क्षेत्र इरानी नौसैनिक गतिविधिको प्रमुख केन्द्र मानिन्छ र होर्मुज जलडमरूमध्यसँग जोडिएको छ ।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका थिए । तर समाचार तयार पार्दासम्म इरान सरकारले अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
उता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका–इरान वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि तत्कालै द्वन्द्व अन्त्य हुने सम्भावना नरहेको बताएका थिए । सोहीबीच भएको अमेरिकी आक्रमणले सम्भावित शान्ति सम्झौतामाथि थप अन्योल सिर्जना गरेको विश्लेषण गरिएको छ ।
आक्रमणपछि अमेरिकी विदेशमन्त्री Marco Rubio ले भने अमेरिका र इरानबीच शान्ति सम्झौताको सम्भावना अझै जीवित रहेको बताएका छन् । भारत भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै उनले प्रारम्भिक समझदारीपत्रको भाषाबारे छलफल भइरहेको र केही दिनभित्र प्रगति हुन सक्ने बताएका हुन् ।
रुबियोले अमेरिकी राष्ट्रपति Donald Trump सम्झौता गर्न इच्छुक रहेको उल्लेख गर्दै ‘राम्रो सम्झौता हुने वा सम्झौता नै नहुने’ धारणा व्यक्त गरेका छन् ।
हाल वार्तामा ६० दिनसम्म युद्धविराम थप गर्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप छलफल अघि बढाउने विषय समेटिएको बताइएको छ ।