Monday, June 1, 2026

महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ, बिक्री गर्ने व्यक्ति समेत प्रहरी नियन्त्रणमा


काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिक्री लुट्ने र लुटिएको सुन खरिद–बिक्रीमा संलग्न व्यक्ति रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वैशाख २४ गते काठमाडौं महानगरपालिका–७ चाबहिल आकाशे पुल क्षेत्रमा एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको थियो । त्यसैगरी, जेठ ९ गते बिहान बसुन्धरास्थित कल्कीनारायण मन्दिरमा दर्शन गर्न पुगेकी अर्की महिलामाथि पनि यस्तै घटना भएको थियो ।

दुवै घटनामा संलग्न रहेको आरोपमा संखुवासभाको सभापोखरी गाउँपालिका–७ घर भई हाल टोखा नगरपालिका–बानियाँटार बस्दै आएका ४६ वर्षीय रामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनलाई लुटिएको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, तामाङले लुटेर ल्याएको सुन खरिद तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा ललितपुर महानगरपालिका–१ निवासी ६३ वर्षीय किशोर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चाबहिल क्षेत्रबाट उनलाई सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like