- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने निर्णयपछि राष्ट्रपतिले सरकारको प्रस्ताव स्वीकार गरेका छन्। अब उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ।
प्रधानमन्त्री कार्यालयको आग्रहअनुसार मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्दै राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेको थियो। राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री सचिवालयका प्रतिनिधिहरूले करिब सात दिनअघि नै राष्ट्रपतिको सचिवालयसँग भेट गरी गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्नु उपयुक्त हुने प्रस्ताव राखेका थिए।
प्रधानमन्त्री पक्षले गणतन्त्रको प्रमुख प्रतीक राष्ट्रपतिनै भएकाले सो अवसरमा राष्ट्रपतिले सम्बोधन गर्नु उचित हुने तर्क प्रस्तुत गरेको बताइएको छ। त्यसबेला राष्ट्रपतिको सचिवालयले भने यसअघिदेखिको अभ्यास र परम्परा परिवर्तन गर्ने विषय मौखिक आग्रहबाट सम्भव नहुने जवाफ दिएको थियो।
राष्ट्रपति कार्यालयका अनुसार नयाँ अभ्यास बसाल्ने विषय कानुन र प्रक्रियासँग जोडिएको भएकाले औपचारिक निर्णय आवश्यक हुने सुझाव प्रधानमन्त्री पक्षलाई दिइएको थियो। त्यसपछि कानुनी परामर्शसहित मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई पत्र पठाइएको हो।
राष्ट्रपति कार्यालयले आइतबार प्राप्त पत्र सोमबार दर्ता गरी राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको जनाएको छ। त्यसपछि राष्ट्रपतिले सरकारको प्रस्ताव स्वीकार गर्दै गणतन्त्र दिवसमा सम्बोधन गर्न सकारात्मक सहमति दिएको स्रोतले बताएको छ।
राष्ट्रपति पौडेलले नयाँ परम्परा स्थापित गर्ने विषयलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेको पनि स्रोतको भनाइ छ।