- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा चर्को बहस भएको छ। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भनाइलाई संसद्को आधिकारिक रेकर्ड (ह्यान्सार्ड) बाट हटाउन माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका थिए। त्यस क्रममा उनले “म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए।
यसै अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले यसलाई गम्भीर र संवेदनशील विषय भन्दै तत्काल सच्याउनुपर्ने माग गरेका छन्।
सांसद रमेश मल्लले राष्ट्रिय अखण्डतासँग जोडिएको विषयमा प्रधानमन्त्रीकै तहबाट यस्तो अभिव्यक्ति आउनु गम्भीर भएको टिप्पणी गर्दै यसलाई अनौपचारिक भनाइको रूपमा व्याख्या गर्न नहुने बताएका छन्। उनले यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश जाने भन्दै संसद्को रेकर्डबाट हटाउनुपर्ने धारणा राखे।
यस्तै, प्रमुख सचेतक बासना थापाले पनि प्रधानमन्त्रीको भनाइबारे स्पष्टता आवश्यक रहेको बताउँदै यदि उक्त भनाइ तथ्यमा आधारित हो भने विवरण सार्वजनिक गर्न, अन्यथा रेकर्ड सच्याउन आग्रह गरिन्।
प्रधानमन्त्री शाहले भने सीमा विवादलाई दुवै देशबीच कूटनीतिक वार्ता र छलफलमार्फत समाधान गर्ने सरकारको नीति रहेको दोहोर्याएका थिए।