- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको अभियान सुरु गर्ने घोषणा गरेका छन्।
आइतबार सार्वजनिक अपिलमार्फत राणाले राप्रपाको वर्तमान कार्यशैली र राजनीतिक दिशाप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेको जानकारी दिएका हुन्।
उनले विगत चार वर्षदेखि राप्रपालाई जनताको भावना र अपेक्षाअनुसार अघि बढाउने प्रयास गरे पनि पार्टी त्यसमा सफल हुन नसकेको बताएका छन्। पार्टीभित्र देखिएको वैचारिक अन्योल, विरोधाभास र नेतृत्वगत कमजोरीका कारण राप्रपा जनताबाट अस्वीकार हुन पुगेको उनको टिप्पणी छ।
राणाले आफूले पार्टी छोड्ने निर्णय व्यक्तिगत द्वेष वा वैमनस्यताका कारण नभई देश र जनताको हितलाई केन्द्रमा राखेर गरेको स्पष्ट पारेका छन्। देशभित्र तथा विदेशमा रहेका शुभेच्छुक, समर्थक र सहयात्रीहरूसँगको परामर्शपछि नयाँ अभियान सुरु गर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।
उनले राष्ट्रप्रेम, सुशासन र समृद्धिको पक्षमा उभिने सबै राष्ट्रवादी शक्ति तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्। साझा उद्देश्य र स्पष्ट राजनीतिक दृष्टिकोणका साथ विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणमा एकजुट हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
राप्रपाभित्र पछिल्लो समय वैचारिक स्पष्टता, नेतृत्व शैली र पार्टीको भावी दिशालाई लिएर असन्तुष्टि बढ्दै गएको चर्चा भइरहेका बेला राणाको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।