Monday, June 1, 2026

यात्रु घटेपछि बुद्ध एयरले बन्द गर्‍यो भरतपुर–पोखरा उडान


चितवनको भरतपुर र कास्कीको पोखराबीच सञ्चालन हुँदै आएको बुद्ध एयरको हवाई सेवा बन्द भएको छ । कम यात्रु, बढ्दो हवाई भाडा तथा पोखरा–मुग्लिन सडकखण्ड सहज बनेपछि कम्पनीले उडान स्थगित गरेको जनाएको छ ।

बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार करिब एक महिनादेखि भरतपुर–पोखरा उडान रोकिएको हो । उनका अनुसार दुवै गन्तव्यबीच यात्रुको संख्या अत्यन्त न्यून भएपछि नियमित उडान सञ्चालन गर्न कठिन भएको थियो ।

बस्नेतले विशेष समूह वा चार्टर प्रकृतिका यात्रु भएमा आवश्यकताअनुसार उडान गर्न सकिने बताए । उनले केही समयसम्म घाटा व्यहोरेर पनि सेवा सञ्चालन गरिएको तर सधैं खाली जहाज उडाउन सम्भव नभएको उल्लेख गरे । पर्यटकीय उद्देश्यले सुरु गरिएको सेवा अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।

चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीको आग्रहमा बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि यो रुटमा उडान सुरु गरेको थियो । त्यसबेला सडक विस्तारका कारण यात्रा असहज भएकाले हवाई सेवा लोकप्रिय बनेको थियो ।

हाल भने मुग्लिन–पोखरा सडकखण्ड सुधार भएसँगै अधिकांश यात्रु सडकमार्ग रोज्न थालेका छन् । अहिले भरतपुरबाट पोखरा निजी सवारीमा करिब साढे दुई घण्टा तथा सार्वजनिक सवारीमा करिब तीन घण्टामै पुग्न सकिने अवस्था छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like