- by समाचार कक्ष
- Mar 06, 2025
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा व्यवसायीहरूले भुक्तानी, मूल्यवृद्धि तथा म्याद थपसम्बन्धी समस्या उठाएपछि मन्त्री लम्सालले सरकार गम्भीर रहेको बताएका हुन् ।
बैठकमा निर्माण व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको तथा आयोजनाको म्याद थपमा जटिलता रहेको गुनासो गरेका थिए । त्यसपछि मन्त्री लम्सालले व्यवसायीलाई निर्माण कार्य नरोक्न आग्रह गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए । उनले खरिद सम्झौताअनुसार समयमै काम सम्पन्न गर्न व्यवसायीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए ।
मन्त्री लम्सालले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै हालसम्मकै उच्च मूल्यवृद्धिले निर्माण क्षेत्रमा गम्भीर असर पारेको उल्लेख गरे । विशेषगरी डिजेलको मूल्य बढ्दा निर्माण लागत अत्यधिक बढेको उनको भनाइ थियो । मन्त्रालय स्वयं ठूलो आर्थिक दबाबमा रहे पनि व्यवसायीका समस्या समाधानमा सरकार संवेदनशील रहेको उनले बताए ।
उनले राष्ट्र बैंकको सूचकांकका आधारमा मूल्य समायोजनको प्रक्रिया अघि बढाइएको जानकारी दिँदै कानुनी व्यवस्था मिलाएर व्यवसायीलाई राहत उपलब्ध गराइने बताए । केही आयोजनामा आवश्यक परे ऐन संशोधन गरेर पनि मूल्य समायोजन र म्याद थपको समस्या समाधान गरिने उनको प्रतिबद्धता छ ।
राज्य र निर्माण व्यवसायी विकासका साझेदार भएको उल्लेख गर्दै मन्त्री लम्सालले सहकार्य र समन्वयमार्फत अघि बढ्नुपर्नेमा जोड दिए । तर, काममा लापरबाही गर्ने तथा समयमै आयोजना सम्पन्न नगर्ने व्यवसायीप्रति भने सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी पनि उनले दिए ।