- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रोजगारीको क्रममा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि कानुनी रूपमा पाउनुपर्ने क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित रहनु परेको छ ।
विगत पाँचदेखि सात वर्षयता भएका विभिन्न सडक दुर्घटना, कार्यस्थल दुर्घटना तथा अन्य घटनामा ज्यान गुमाएका वा अंगभंग भएका श्रमिकका परिवारले अदालतको फैसला भए पनि रकम प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको छ ।
यसैबीच, यूएईस्थित नेपालीहरूको संस्था ‘नेपाली समाज यूएई’ले पीडित परिवारलाई न्याय दिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । संस्थाले प्रधानमन्त्री बालेन्द्र शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई पत्र पठाउँदै तत्काल पहल गर्न आग्रह गरेको छ ।
अध्यक्ष राम मोक्तान, पार्षद अध्यक्ष कमल गिरी र महासचिव जीवन पंगेनीले संयुक्त रूपमा पठाएको पत्रमा यूएईस्थित नेपाली दूतावासमार्फत आवश्यक समन्वय प्रभावकारी नभएको आरोप लगाइएको छ । उनीहरूका अनुसार समयमै पहल नहुँदा धेरै परिवार वर्षौंदेखि क्षतिपूर्तिको प्रतीक्षामा छन् ।
पत्रमा झापाका ख्यामराज प्रधान, पाल्पाका भोजबहादुर सारु, काभ्रेका लक्ष्युराम तामाङ, रोल्पाका रामबहादुर ओली र स्याङ्जाका दिपेश रेग्मी क्षेत्री लगायतका प्रतिनिधिमूलक घटनाहरू उल्लेख गर्दै अदालतको निर्णय र बीमा दावीका बाबजुद पनि रकम नपाएको अवस्था रहेको जनाइएको छ ।
नेपाली समाज यूएईका अनुसार यस्ता सयौं मुद्दा अझै अलपत्र अवस्थामा छन् । कतिपय घटनामा बीमा दावीको समयसीमा नाघेको कारण पनि पीडित परिवार वञ्चित भएको बताइएको छ ।
संस्थाले नेपाल सरकार, दूतावास र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी क्षतिपूर्ति प्रक्रिया तीव्र बनाउन माग गरेको छ ।
यूएईमा हाल सात लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको र सन् १९९० मा स्थापना भएको नेपाली समाज यूएई त्यहाँको पुरानो सामाजिक संस्थामध्ये एक रहेको जनाइएको छ ।