Monday, June 1, 2026

कलाकार, सिर्जना र संस्कृति राष्ट्रका अमूल्य निधि हुन् : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका अमूल्य निधि भएको बताएका छन् । शुक्रबार आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले कला, साहित्य र सङ्गीतले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने बताए । उनका अनुसार बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता भएको नेपालमा यी सिर्जनात्मक क्षेत्रहरू राष्ट्रिय एकताको बलियो आधार हुन् ।

उनले सङ्गीतलाई साझा भाषा, साझा सम्पत्ति र राष्ट्रिय पहिचानको आधारका रूपमा व्याख्या गर्दै यसको शक्ति अपार रहेको बताए । परम्परागत धुन, लय र शैलीलाई संरक्षण गर्दै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नुपर्ने आवश्यकता आजका सर्जकहरूको लागि चुनौती र अवसर दुवै भएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले स्रष्टा र कलाकारहरूको योगदानलाई राज्यले उच्च सम्मान दिनुपर्नेमा जोड दिँदै संस्कृतिको संरक्षण र सङ्गीतको विकासमा सरकार तथा सम्बन्धित निकायले निरन्तर सहयोग गर्नुपर्ने बताए ।

त्यसैगरी उनले नातिकाजीको योगदानको प्रशंसा गर्दै उनका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाले उनलाई नेपाली सङ्गीत क्षेत्रमा अमर बनाएको उल्लेख गरे । विशेषगरी उनका देशभक्तिपूर्ण गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई अझ गहिरो बनाएको उनले बताए ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like