- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टोली शनिबार माघ १७ गते चीनको युनान युथ महिला टोलीसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ।
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना हुने खेल दशरथ रंगशालामा हुने तय भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा खेल आयोजना हुँदैछ।
खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले मैत्रीपूर्ण खेलका लागि आफ्नो तयारी पूर्ण रहेको र उत्साहजनक प्रतिस्पर्धा हुने बताएका छन्।
नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले उत्कृष्ट टीमवर्क र सञ्चार क्षमताका कारण खेल सहज हुने र जीत आफ्नो पक्षमा रहने विश्वास व्यक्त गरिन्। मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पनि टोली खेलका लागि तयार रहेको जानकारी दिए।
खेल अघि नेपाल र चीनका सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि हुने कार्यक्रम तय गरिएको छ। एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ।