Monday, March 2, 2026

एमाले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने, ३०–३४ प्रतिशत मतको लक्ष्य


काठमाडौँ - नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्यसहित फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन तयारीलाई तीव्र पारिएको र पार्टीले यस पटक ३०–३४ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको जानकारी दिए।

महासचिव पोखरेलले यस निर्वाचनलाई मुलुकको दिशा परिवर्तन गर्ने ‘जनमत संग्रह’ को रूपमा वर्णन गर्दै, निर्वाचन आयोगको कार्यतालिकाका कारण हाल पार्टी आन्तरिक भेटघाट र संगठन सुदृढीकरणमा केन्द्रित रहेको बताए। घोषणापत्र सार्वजनिक भएपछि उम्मेदवारहरूले पूर्ण रूपमा जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने उनले स्पष्ट पार्नुभयो। उनले सामाजिक सञ्जालमा आधारित ‘पपुलिजम’ लोकतन्त्रका लागि चुनौती भएको टिप्पणी गर्दै, चुनावलाई अनुहारको प्रतिस्पर्धा भन्दा नीति र एजेण्डाको बहस बनाउनुपर्नेमा जोड दिए।

शहरी क्षेत्रको राजनीतिको विश्लेषण गर्दै पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव काठमाडौँजस्ता ठूला शहरमा घट्दै गएको दाबी गरे। उनका अनुसार, सहकारी ठगीजस्ता मुद्दा र संगठनात्मक कमजोरीका कारण रास्वपाको लोकप्रियता कमजोर भएको छ। ग्रामीण क्षेत्रमा यसको प्रभाव केही बढेको भए पनि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने उनले बताए। उनले कांग्रेसलाई ‘साइलेन्ट’ शक्ति भने र प्रचारमा कमजोर देखिए पनि स्थानीय तहमा बलियो आधार भएको भन्दै यसको कमजोर आँकलन गर्नु गलत हुने बताए।

दाङबाट आफ्नो उम्मेदवारीको सन्दर्भमा पोखरेलले विगतमा साना मतान्तरले हार भए पनि यसपटक जनताले आफूलाई राष्ट्रिय नेतृत्वका लागि विजयी बनाउने विश्वास व्यक्त गरेको बताए। उनले दाङको फोरलेन सडक निर्माणमा निर्णायक पहल गरेका र यसलाई जिल्लाको ‘गेम चेन्जर’ आयोजनाका रूपमा प्रस्तुत गरे। एमाले चुनावी मैदानमा नीतिगत बहस, सामाजिक एकता र पारिवारिक मूल्यको संरक्षणजस्ता मुद्दा लिएर अघि बढ्ने उनको भनाइ छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like