Monday, June 1, 2026

‘व्यापारिक घरानाको कार्यक्रममा जाने अनि सरकारलाई ललकार्ने?’ रास्वपाको कामु प्रधानन्यायाधीशमाथि प्रश्न


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति प्रतिनिधिसभाबाटै आपत्ति जनाएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले कानुन दिवसको अवसरमा मल्लले प्रधानमन्त्री र रास्वपालाई लक्षित गर्दै दिएको भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्।

पराजुलीले न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजनीतिक कोटाबाट हुने नियुक्तिले न्याय प्रणालीलाई प्रभावित बनाएको आरोप लगाए। उनले दलगत भागबन्डाका आधारमा न्यायाधीश नियुक्त गर्दा स्वतन्त्र र स्वच्छ न्यायपालिकाको परिकल्पना गर्न कठिन हुने बताए।

उनले कामु प्रधानन्यायाधीश विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदा आचारसंहिताको ख्याल नगरेको आरोपसमेत लगाए। कानुनले निषेध गरेका विषयलाई प्रचार सामग्रीमा राखिएको कार्यक्रममा सहभागी हुनु न्यायिक मर्यादाविपरीत भएको उनको भनाइ थियो।

पराजुलीले विश्वव्यापी अभ्यासअनुसार न्यायाधीशहरू आचारसंहिताबाहिरका कार्यक्रममा सहभागी नहुने उल्लेख गर्दै सार्वजनिक रूपमा सरकारविरुद्ध टिप्पणी गर्नु न्यायिक भूमिकासँग मेल नखाने दाबी गरे।

उनले व्यापारिक घरानासँग सम्बन्धित कार्यक्रममा उपस्थिति जनाएर सडकबाट दुई तिहाइको सरकारलाई चुनौती दिन खोजिएको भन्दै प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग पनि प्रश्न गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like