- by समाचार कक्ष
- Mar 06, 2025
नेपाली कांग्रेसका नेता नैनसिंह महरले प्रधानमन्त्रीको पछिल्लो व्यवहार संसदीय शिष्टाचार र लोकतान्त्रिक संस्कारअनुकूल नरहेको टिप्पणी गरेका छन्।
स्कुल अफ डेमोक्रेसी बाग्मती प्रदेशले काठमाडौंमा आयोजना गरेको ‘उन्नत लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले सरकार लोकतान्त्रिक पद्धति, संवैधानिक मर्यादा र स्थापित राजनीतिक संस्कृतिप्रति अपेक्षित रूपमा प्रतिबद्ध नदेखिएको आरोप लगाए।
महरले संघीय संसद्मा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बीचमै सभाहलबाट बाहिरिएको घटनालाई अस्वाभाविक र अनुपयुक्त व्यवहारको रूपमा व्याख्या गरे। उनका अनुसार राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम सरकारकै आधिकारिक दस्तावेज भएकाले त्यस समयमा प्रधानमन्त्रीको अनुपस्थिति संसदीय मर्यादासँग मेल नखाने विषय हो।
उनले लोकतन्त्र केवल निर्वाचनमा सीमित नहुने उल्लेख गर्दै संवैधानिक अनुशासन, राजनीतिक परम्परा र लोकतान्त्रिक संस्कारको सम्मान गर्नु राज्यका जिम्मेवार व्यक्तिहरूको दायित्व भएको बताए।
महरले पछिल्ला राजनीतिक गतिविधिले स्थापित राजनीतिक संस्कृतिमाथि आघात पुगिरहेको जनमानसमा अनुभूति बढ्दै गएको पनि उल्लेख गरे। साथै, संविधान, संसद् र राष्ट्रप्रमुखसँग सम्बन्धित विषयमा सरकार अझ संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन्।