Monday, June 1, 2026

‘रास्वपा एआई र अल्गोरिदमको जादुबाट उभिएको दल’ - बादलको तीखाे टिप्पणी


नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैचारिक आधारमा स्थापित राजनीतिक दल नभएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपालाई आकस्मिक रूपमा उदाएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठबन्धनको संज्ञा दिए।

बादलले रास्वपाले संघीय सरकार र प्रतिनिधिसभामा प्रभाव विस्तार गरेपछि अध्यादेशमार्फत शासन सञ्चालनको प्रयास गरेको आरोप लगाए। उनका अनुसार सरकारले अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश जारी गर्नुको उद्देश्य प्रशासनिक तथा न्यायिक संरचनामाथि एकल प्रभुत्व कायम गर्नु थियो।

उनले रास्वपाको राजनीतिक सफलतालाई पार्टीको दीर्घकालीन योगदान, बलिदान वा वैचारिक क्षमताको परिणाम नभएको दाबी गरे। बरु विगतका सत्ताधारी दलहरूको कमजोरी, एआई र अल्गोरिदमको प्रभाव तथा अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिको सम्मिलित परिणामका रूपमा रास्वपा उदाएको उनको भनाइ थियो।

बादलले आगामी स्थानीय तह, प्रदेश र राष्ट्रियसभा निर्वाचनमार्फत रास्वपाले आफ्नो एकल नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे। उनका अनुसार रास्वपाले अघि सारेको भनिएको “निलो क्रान्ति” त्यही लक्ष्य पूरा भएपछि मात्रै पूर्ण हुने दाबी गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like