- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकका गुनासा, समस्या तथा उद्धारसम्बन्धी सेवालाई सहज बनाउन परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले विकास गरेको उक्त एपको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार गरेका हुन्।
यस एपमार्फत विदेशमा रहेका नेपाली तथा उनीहरूका परिवारजनले स्मार्टफोनबाटै आफ्ना समस्या, उजुरी र गुनासा सम्बन्धित नेपाली नियोगमा सिधै पठाउन सक्ने व्यवस्था गरिएको छ। विभागका महानिर्देशक दुरपदा सापकोटाका अनुसार यसअघि अनलाइन प्रणालीमार्फत आएका उजुरी विभागले सम्बन्धित नियोगमा पठाउने व्यवस्था थियो भने अब एपमार्फत सीधै सम्बन्धित निकायसम्म पुग्नेछ।
मन्त्री खनालले प्रविधिको प्रयोगमार्फत सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको बताए। विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको समस्या समाधान तथा उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन एपले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
‘मोफा मित्र’ एपले विदेशमा रहेका नेपालीहरूको गुनासा सम्बोधनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री खनालले प्रविधिको अधिकतम प्रयोगमार्फत नागरिक सेवा प्रभावकारी बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए।
कन्सुलर सेवा विभागले हरेक नेपालीको पहुँचमा सेवा पुर्याउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको जनाएको छ।