Monday, June 1, 2026

लोकतान्त्रिक मूल्य र नीतिगत स्थिरतामा सरकार दृढ : प्रधानमन्त्री बालेन शाह


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण, राजनीतिक स्थिरता र नीतिगत निरन्तरताप्रति आफ्नो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको युरोपेली मुलुकहरूको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले सरकारको प्राथमिकता सुशासन, समावेशी आर्थिक समृद्धि र जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहले नयाँ नेतृत्वमा सरकार गठन भए पनि विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिइने उल्लेख गर्दै नेपालको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य बनाइने बताए। उनले हालै सम्पन्न निर्वाचनले सुशासन र आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको धारणा राखे।

उनका अनुसार सरकारले विश्व बजारसँग सहकार्य विस्तार गर्दै लगानी आकर्षित गर्न प्रक्रिया सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकासमा जोड दिने नीति लिएको छ। व्यापार, पर्यटन, हरित ऊर्जा र जलवायुजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपालको विदेश नीति सन्तुलित र व्यावहारिक रहने उल्लेख गर्दै छिमेकी तथा मित्र राष्ट्रसँग आपसी सम्मान र साझा समृद्धिको आधारमा सम्बन्ध अघि बढाइने बताए। विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले सैन्य टकरावभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

भेटका क्रममा युरोपियन युनियन तथा विभिन्न युरोपेली मुलुकका राजदूतहरूले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ सरकारलाई बधाई दिँदै आर्थिक विकास, सुशासन र लगानीका क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like