- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन् । उनले मुलुकमा बदलिँदो राजनीतिक परिस्थितिका कारण अब बाहिर बसिरहनुपर्ने अवस्था नरहेको बताएका छन् ।
बुधबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको उल्लेख गर्दै सबै मिलेर देश निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।
उनले तीन प्रमुख राजनीतिक दलहरूबीच संवाद र सहकार्यको सकारात्मक संकेत देखिएको भन्दै अब सबै पक्षले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको अनुभव स्मरण गर्दै उनले वर्तमान नेतृत्वलाई पनि जिम्मेवार बन्न सचेत गराए ।
“अब बाहिर बस्ने अवस्था छैन, पलायन छोडेर आफ्नै भूमिमा फर्कनुहोस्, हामी स्वागत गर्छौं,” उनले भने । उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष ठाकुरले राजनीति पूर्ण रूपमा जनताको सेवामा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।