- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संविधान संशोधनलाई केवल राजनीतिक अंकगणितको खेलमा सीमित गर्न नहुने बताएका छन् । उनले संविधान संशोधनलाई राष्ट्रिय सहमति र अग्रगमनको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद नेम्वाङले संविधान र अर्थतन्त्र दुवै विषयमा सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार संविधान जारी भएको १० वर्ष पुग्न लागेकाले यसको समीक्षा र आवश्यक संशोधन अब राष्ट्रिय बहसको विषय बन्नुपर्छ ।
उनले संविधानलाई केवल अक्षरहरूको दस्तावेज नभई जनताको रगत, पसिना र साझा सहमतिबाट बनेको ऐतिहासिक दस्तावेजको रूपमा व्याख्या गरे । संशोधन बहुमतको गणितले मात्र होइन, राष्ट्रिय सहमति र साझा भावनाबाट हुनुपर्ने उनको भनाइ थियो ।
नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै उनले यसले जनताको अपेक्षा र प्रश्नलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र र दृढ प्रतिबद्धताको अभाव देखिएको उनको आरोप थियो ।
सांसद नेम्वाङले विदेशी अनुदानमा निर्भर रहँदा दिगो विकास सम्भव नहुने भन्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याए । उत्पादनबिना वितरणको सपना देख्नु अर्थहीन हुने भन्दै उनले विकासको नेपाली बाटो उत्पादनमा आधारित हुनुपर्ने बताए ।
सुशासनका नाममा राज्यले दमन वा त्रासको वातावरण सिर्जना गर्नु नहुने भन्दै उनले बलियो प्रणाली र संस्थागत पद्धति विकासमा जोड दिए । साथै, सरकारलाई केवल घोषणा मात्र नभई वास्तविक कार्यप्रगति सार्वजनिक गर्न पनि आग्रह गरे ।