Saturday, July 18, 2026

‘८–१० वर्षमा कांग्रेसलाई छिया–छिया पारियो, अब अप्ठ्यारो प्रस्ताव मानिँदैन’ : गगन थापा


काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा पार्टीलाई कमजोर बनाइएको भन्दै अब संगठन सुदृढीकरणको अभियानमा कुनै पनि अवरोध स्वीकार नगर्ने बताएका छन्।

झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले पार्टीलाई पुनः बलियो बनाउने उद्देश्यका साथ आफूहरू अघि बढिरहेको र त्यसक्रममा अप्ठ्यारो पार्ने उद्देश्यले ल्याइने प्रस्तावहरू नमान्ने स्पष्ट पारे।

उनले भने, ‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८–१० वर्षमा छिया–छिया पारियो। अहिले यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछन् भने ती मानिँदैनन्। नमानेरै अघि बढ्ने हो। हामी पार्टी बनाउन आएका छौँ।’

थापाले पार्टीभित्र संगठनात्मक अनुशासनलाई कडाइका साथ लागू गरिने पनि बताएका छन्। उनले सदस्यता अध्यावधिक नगरेका नेता तथा कार्यकर्ताहरूलाई महाधिवेशन र निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने चेतावनी दिए।

‘सबै नेताहरूले महाधिवेशनमा भाग लिनुहोला। मलाई क्षमा पनि गर्नुहोला, अध्यावधिक नगर्नुभएको नेतालाई म सम्मान गर्छु, तर सिस्टमले चिन्दैन। भोट हाल्न पाउनुहुन्न,’ उनले भने।

आगामी वडा अधिवेशनबाटै यो व्यवस्था लागू हुने उल्लेख गर्दै थापाले सदस्यता अध्यावधिक नगरेका व्यक्तिहरूको नाम पार्टीको प्रणालीमा समावेश नहुने बताए।

थापाको भनाइलाई आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र संगठनात्मक सुधार, अनुशासन र व्यवस्थापनलाई प्राथमिकता दिने संकेतका रूपमा हेरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like