- by समाचार कक्ष
- Mar 06, 2025
पत्रकार ऐश्वर्य कुँवर महासंघको सदस्यताबाट निलम्बित
कञ्चनपुर, — नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पत्रकार ऐश्वर्य कुँवरलाई महासंघको सदस्यताबाट निलम्बन गरेको जनाएको छ।
महासंघले जारी गरेको विज्ञप्तिअनुसार पत्रकार आचारसंहिताविपरीत कार्य गरेको ठहर गर्दै ‘नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौँ संशोधन, २०७५)’ को परिच्छेद ५ अन्तर्गत दफा १८(३) को ‘च’ बमोजिम कुँवरलाई सदस्यताबाट निलम्बन गरिएको हो।
महासंघका अनुसार असार ७ गते भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि दुर्व्यवहार तथा हातपात गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको थियो। घटनापछि प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको जनाएको छ।
सामाजिक सञ्जालमार्फत ‘एके३ टिभी’ नामक फेसबुक पेज सञ्चालन गर्दै आएकी कुँवर यसअघि पनि विभिन्न विवादका कारण प्रहरी नियन्त्रणमा परेकी थिइन्।
महासंघले पत्रकारिता पेशाको मर्यादा, आचारसंहिता र जिम्मेवारीलाई कायम राख्न सबै सञ्चारकर्मीलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अगाडि बढ्ने जनाएको छ।