Monday, March 2, 2026

“५ वर्ष टिक्ने प्रधानमन्त्री चाहिन्छ” - विश्वप्रकाश शर्माको नयाँ संवैधानिक प्रस्ताव


काठमाडौं, ७ फागुन - विश्वप्रकाश शर्माले देशमा सरकार बनाउनेभन्दा पनि पाँच वर्ष स्थिर रूपमा सञ्चालन गर्न सक्ने प्रधानमन्त्रीको प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

धरानस्थित भानु चोकमा बिहीबार आयोजित सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी प्रतिबद्धता घोषणासभामा बोल्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

शर्माले नेपाली कांग्रेस बहुमतसहित अघि बढ्ने लक्ष्यमा रहेको उल्लेख गर्दै पाँच वर्षसम्म स्थिर सरकार सुनिश्चित गर्न निर्वाचनअघि नै राष्ट्रिय सहमति कायम गर्नुपर्ने आफ्नो व्यक्तिगत प्रस्ताव रहेको बताए।

उनका अनुसार विगत ७५ वर्षको राजनीतिक इतिहासमा कुनै पनि प्रधानमन्त्रीले लगातार पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको तथ्यले नयाँ संवैधानिक सोच आवश्यक रहेको देखाउँछ। “प्रधानमन्त्री पाँच वर्ष टिक्न र टिकाउन सक्ने संवैधानिक प्रावधान अब अपरिहार्य छ,” उनले जोड दिए।

शर्माले प्रत्यक्ष निर्वाचित सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलले पूर्ण पाँच वर्ष शासन गर्ने व्यवस्था हुनुपर्ने बताए। यदि स्पष्ट बहुमत नपुगे ‘विनर्स टेक अल’ नीति अनुरूप आवश्यक संख्या सुनिश्चित गर्ने र दोस्रो तथा तेस्रो दलले सरकारमा सहभागी नभई पूरा अवधि प्रतिपक्षमै बस्ने मोडेलमा चुनावपूर्व राष्ट्रिय सहमति गर्नुपर्ने उनको प्रस्ताव छ।

उनले सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट यस्तो सहमतिलाई संविधानमा समावेश गर्नुपर्ने धारणा पनि राखे।

शर्माले सरकार, राजनीतिक दल, बौद्धिक वर्ग र जेनजी सहभागितासहितको वृहत् सम्मेलन आयोजना गरी वर्तमान संविधान र राजनीतिक प्रणालीमा दर्जनभन्दा बढी सुधारका विषयमा बुँदागत सहमति जुटाउन सार्वजनिक आह्वानसमेत गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like