Monday, March 2, 2026

‘फागुन ७’ ले रोपेको बीउबाटै संघीय गणतन्त्रको यात्रा: गगन थापा


काठमाडौँ। गगन थापा ले २००७ सालको ऐतिहासिक जनक्रान्तिलाई नेपालमा भएका सबै पछिल्ला राजनीतिक परिवर्तनहरूको आधारशिला भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ ले १०४ वर्षे निरंकुश राणा शासनको अन्त्य गर्दै आधुनिक नेपालको राजनीतिक यात्राको सुरुआत गरेको उल्लेख गरे।

उनका अनुसार २००७ सालको आन्दोलन केवल शासन परिवर्तनमा सीमित थिएन, यसले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको मार्गसमेत प्रशस्त गरेको थियो। प्रजातन्त्रकै बलमा राष्ट्रियता सुदृढ हुनुका साथै नागरिक अधिकार र जनसहभागिताले संस्थागत आधार पाएको उनको भनाइ छ।

थापाले २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक आन्दोलन हुँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नुमा फागुन ७ को क्रान्तिले नै मुख्य ऊर्जा प्रदान गरेको जिकिर गरे। सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक व्यवस्थातर्फ देशलाई डोर्‍याउने महत्वपूर्ण मोडका रूपमा उनले यस दिनको महत्व औंल्याए।

लोकतन्त्र स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले संविधानको रक्षा र संघीयताको सुदृढीकरण नै उनीहरूप्रतिको सच्चा सम्मान हुने धारणा राखे। साथै, आर्थिक समृद्धि हासिल गरेर मात्र सहिदहरूको सपना पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै सबै नेपालीमा प्रजातन्त्र दिवसको शुभकामना पनि दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like