- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विभिन्न राजनीतिक दलसँग एकता वार्ता भइरहेको बताएका छन्। उनले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको दाबी गरेका छन्।
हाम्रो नेपाल पार्टीसँगको एकता कार्यक्रममा बोल्दै घिसिङले पछिल्ला दिनमा अन्य दल र समूहहरूसँग पनि समायोजन तथा एकता प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
‘हामीले केही समयअघि राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्यौँ। अहिले हाम्रो नेपाल पार्टीसँग पनि एकता सम्पन्न भएको छ। अन्य धेरै पार्टीहरू, नेता, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा रहेका व्यक्तिहरू पनि उज्यालो नेपाल पार्टीमा समाहित हुने चरणमा छन्,’ घिसिङले भने।
उनका अनुसार पार्टी विस्तार र एकतामार्फत उज्यालो नेपाललाई बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य छ।
घिसिङले आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गर्दै त्यसपछिको आमनिर्वाचनमा देशको नेतृत्व गर्ने लक्ष्य रहेको पनि बताए।