- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केवल राजनीतिक व्यवस्था परिवर्तनले मात्रै जनताको अपेक्षा पूरा नहुने बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक चरित्र, शासनशैली र मूल्यमान्यतामा परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई व्यवहारले पुष्टि गर्नुपर्ने उल्लेख गर्दै गणतन्त्रको संस्थागत विकासका लागि राजनीतिक निष्ठा, नैतिकता र आचरणमा सुधार अपरिहार्य रहेको बताए ।
उनले भ्रष्टाचार, ढिलासुस्ती र बेथितिलाई गणतन्त्रका प्रमुख शत्रुका रूपमा चित्रित गर्दै यिनै कारण नागरिकमा निराशा बढ्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
‘नागरिकको जीवनमा आशा र विश्वास जगाउन नसकेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य पूरा हुँदैन,’ राष्ट्रपति पौडेलले भने ।
उनले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । साथै, राज्यका संरचना र राजनीतिक दलहरूलाई थप लोकतान्त्रिक, पारदर्शी, निष्पक्ष र जनउत्तरदायी बनाउन ढिलाइ गर्न नहुने धारणा राखे ।
राष्ट्रपतिले स्थानीय र प्रदेश सरकारमार्फत जनताको घरआँगनमै लोकतान्त्रिक अभ्यास विस्तार भइरहेको उल्लेख गर्दै यसले लोकतन्त्रको जग अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।