Monday, June 1, 2026

वेबसाइट ह्याक गरेर ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा


सार्वजनिक खरिदसम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्का प्रक्रियामा हेरफेर गरेको आरोपमा निर्माण व्यवसायी सहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौं मा दायर गरेको मुद्दामा विक्रम पाण्डे सहित विभिन्न निर्माण कम्पनीका सञ्चालकहरूलाई प्रतिवादी बनाइएको छ।

यो मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको हो। आरोपितहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालन हुने बोलपत्रसम्बन्धी वेबसाइटमा पहुँच बनाएर बिडिङ विवरण परिवर्तन गरेको अभियोग लगाइएको छ।

अनुसन्धानका क्रममा आरोपितहरूले ह्वाट्सएपमार्फत ठेक्का मिलाउने, बिडिङ मूल्य हेरफेर गर्ने तथा ठेक्का कसलाई पार्ने भन्ने विषयमा समन्वय गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सन् २०२३ देखि नै उनीहरूले क्लाउड सर्भरमार्फत प्रणालीमा पहुँच बनाएर बिडिङ प्रक्रियामा हस्तक्षेप गर्दै आएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। साथै, अनुसन्धानका क्रममा क्रिप्टोकरेन्सी कारोबारसमेत भएको भेटिएपछि सो सम्बन्धी कसुरमा पनि सजाय माग गरिएको छ।

यस प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ भने बाँकीलाई फरार प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like