- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सडक यात्रालाई सुरक्षित बनाउने जिम्मेवारी राज्यकै भएको उल्लेख गरे। तर विगतमा यस विषयमा अपेक्षित गम्भीरता नदेखिएको उनको टिप्पणी छ। दुर्घटनाको निष्पक्ष र गहिरो छानबिन गरी वास्तविक कारण पत्ता लगाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्नेमा उनले जोड दिएका छन्।
लामिछानेले सुरक्षित सडक पूर्वाधार, जिम्मेवार चालक, कडाइका साथ कार्यान्वयन हुने ट्राफिक नियम र प्रभावकारी अनुगमन नै यस्ता दुर्घटना रोक्ने मुख्य आधार भएको बताए। “हामी यस विषयमा गम्भीर र जिम्मेवार हुनेछौँ,” उनले उल्लेख गरेका छन्।
धादिङमा भएको उक्त बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १७ जनाको मृत्यु भएको र थप दुई जनाको उपचारका क्रममा ज्यान गएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।