Thursday, April 16, 2026

‘धरौटीमा छुटाइदिन्छु’ भन्दै ९ लाख ठगी: न्यायाधीशसँग चिनजानको झूटो दाबी गर्ने दम्पती पक्राउ


काठमाडौँ, चैत १८ गते । प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–मण्डिखाटार बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा पक्राउ परेर हाल जगन्नाथदेवलस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीहरूलाई धरौटीमा छुटाइदिने भन्दै पीडित पक्षसँग रकम असुलेका थिए।

हरि बहादुर थापा मगरले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो पहुँच रहेको दाबी गर्दै ‘सेटिङ’ मिलाएर रिहा गराइदिने आश्वासन दिएका थिए। उनले धरौटी रकम तथा वकिल खर्चका नाममा रकम माग गरेका थिए।

उनीहरूको योजनाअनुसार पीडित पक्षबाट ९ लाख रुपैयाँ मिठु मगरको बैंक खातामा जम्मा गराइएको थियो। तर, वाचा अनुसार काम नभएपछि ठगी भएको उजागर भएको हो।

घटनापछि प्रहरीले उनीहरूलाई मण्डिखाटार क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like