Thursday, April 16, 2026

कांग्रेस विवाद उत्कर्षमा: सुदूरपश्चिमका महामन्त्री शाहद्वारा पार्टी गतिविधि बहिष्कारको घोषणा


काठमाडौं, २०८२ चैत १८ गते । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादबीच सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले पार्टीका कुनै पनि औपचारिक तथा अनौपचारिक गतिविधिमा सहभागी नहुने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र देखिएको पछिल्लो अवस्था प्रति असन्तुष्टि जनाएका हुन्। उनले वर्तमान परिस्थितिलाई जटिल र संवेदनशील भन्दै पार्टी एकजुट हुन नसकेको अवस्थामा आफू कार्यक्रमहरूबाट टाढा रहने निर्णयमा पुगेको उल्लेख गरेका छन्।

शाहले पार्टीभित्र एकता कायम नभएसम्म आफू सक्रिय रूपमा सहभागी नहुने स्पष्ट पार्दै भावनात्मक रूपमा कठिन निर्णय लिनुपरेको बताएका छन्। साथै, उनले आगामी दिनमा दलगत राजनीतिबाट समेत केही दूरी राख्न सक्ने संकेत गरेका छन्।

उनले पार्टी विभाजनतर्फ उन्मुख भए त्यसले लोकतन्त्र, राष्ट्रवाद र समाजवादमा आस्था राख्ने कार्यकर्ताहरूको मनोबलमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

राजनीतिक पृष्ठभूमिमा हेर्दा शाह सुदूरपश्चिममा स्थापित कांग्रेस नेताका रूपमा चिनिन्छन्। उनी यसअघि कांग्रेस कैलालीका दुई कार्यकाल सभापति भइसकेका छन्। उनका परिवारको पनि लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय भूमिका रहँदै आएको छ। उनका बुवा स्वर्गीय मोहनबहादुर शाह र हजुरबुवा लोकेन्द्रबहादुर शाह पनि कैलाली कांग्रेसका प्रमुख नेताका रूपमा परिचित थिए।

लोकेन्द्रबहादुर शाह २०१५ सालको पहिलो आमनिर्वाचनमा कैलाली–कञ्चनपुर क्षेत्रबाट विजयी भई संसदमा प्रतिनिधित्व गरेका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like