- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २०८२ चैत १८ गते । संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभाको पहिलो बैठकअघि आवश्यक तयारीका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ।
बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा आयोजना हुने तय गरिएको छ। आगामी १९ चैतमा बस्ने प्रतिनिधिसभाको पहिलो बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले उक्त बैठक आह्वान गरिएको हो।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संसद् सचिवालयका उच्च अधिकारीहरूको सहभागिता रहनेछ। बैठकले विशेषगरी प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रतिनिधिसभाको पहिलो बैठकले सभामुख चयन प्रक्रियालाई अघि बढाउनेछ। साथै, परम्पराअनुसार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने सम्भावना पनि रहेको छ।
यसपटकको प्रतिनिधिसभामा ६ वटा राजनीतिक दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् भने एक स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ भने कांग्रेस, एमाले र नेकपा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।
त्यस्तै, पहिलोपटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टीले उल्लेखनीय उपस्थिति जनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि प्रतिनिधिसभामा समावेश भएको छ।