- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी स्थानीय तह निर्वाचनका लागि मेयर उम्मेदवारको नाम समयअगावै सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पूर्ववडाध्यक्ष धनबहादुर राईलाई धरानको भावी मेयर उम्मेदवारका रूपमा अघि सारेका हुन् ।
यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित भएका साम्पाङले आफ्नो राजनीतिक अभियान र ‘लिगेसी’लाई निरन्तरता दिन धनबहादुर उपयुक्त पात्र भएको बताएका छन् । उनले लेखेका छन्, ‘मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !’
धनबहादुर राई यसअघि नेकपा (एमाले)बाट धरान–४ का वडाध्यक्ष निर्वाचित भएका थिए । पछि एमाले छोडेर उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन् । साम्पाङले सञ्चालन गरेको श्रमदान अभियानमा सक्रिय सहभागिता जनाएपछि एमाले धरानले उनलाई पदबाट हटाउन सिफारिस गरेको थियो ।
साम्पाङले मेयर पदका अर्का आकांक्षी निना चन्द्रलाई भविष्यमा प्रदेश मन्त्री बनाइदिने आश्वासनसमेत दिएका छन् । उनले ‘आजदेखि मेयर उम्मेदवारको विषय टुंगिएको’ उल्लेख गर्दै अब पार्टी एकताबद्ध भएर अघि बढ्ने संकेत गरेका छन् ।